शितलहरले चितवन शहर आक्रान्त , विमानस्तल ठप्प, जनजीवान प्रभावित
चितवन — तीन दिनयता चितवनमा अत्यधिक चिसो बढेको छ । आइतबारदेखि शीतलहर चल्न थालेपछि चिसो अत्यधिक बढेको हो । तीन दिनयता चितवनको औसत न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस छ ।
भरतपुर विमानस्थलका अनुसार शनिबार न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो भने आइतबार १३ डिग्री र आज ९सोमबार० न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रहेको थियो । सोमबार दिउँसो ३ बजेसम्मको तापक्रम १४ डिग्री रहेको छ ।
चिसो बढेपछि चितवनको जनजीवनसमेत प्रभावित बनेको छ । स्थानीयबासी घर छेउछाउमा आगो तापेर बस्न थालेका छन् । रमाइलो चोकमा आगो ताप्दै गरेकी भरतपुर–१० की सीता परियारले चिसोका कारण काम नै प्रभावित बनेको बताइन् । ‘मैले आफैं सिलाइको काम गर्छु, आज धेरै चिसो महसुस भएर कामै गरेकी छैन, आगो तापेर बसिरहेकी छु,’ उनले भनिन् ।
चिसोले बजारमा समेत भीडभाड कम छ । नारायणघाटमा लामो समयदेखि व्यवसाय गर्दै आएका सूर्यभक्त अधिकारीले चिसो बढेपछि ग्राहक कम आएको बताए । ‘केही दिनयता बजारमा चहलपहल कम छ, चिसो बढेर व्यापार पनि छैन,’ उनले भने ।
तीन दिनदेखि भरतपुर विमानस्थल बन्द
चिसो बढेसँगै भरतपुर विमानस्थल तीन दिनदेखि बन्द छ । विमान उडानका लागि मौसम सफा नभएपछि शनिबारदेखि नै उडान ठप्प रहेको भरतपुर विमानस्थलका वरिष्ठ अधिकृत भुवन थापाले बताए । ‘लगातार तीन दिनदेखि उडानका लागि चाहिने भिजिविलिटी पुगेको छैन, अहिले विमानस्थल बन्द छ,’ उनले भने ।
भरतपुर विमानस्थलको भिजिविलिटी सोमबार ११ सय मिटर मात्रै छ । बादलको उचाइ भने १५ सय फिट माथि नै छ । विमान उडानका लागि न्यूनतम् भिजिविलिटी ५ हजार मिटर आवश्यक हुन्छ । बादलको उचाइ भने १५ सय फिटभन्दा माथि हुनुपर्छ । सोमबार बादलको उचाइ मापदण्डअनुसार पुगे पनि भिजिविलिटी नपुग्दा उडान प्रभावित बनेको थापाले बताए । ‘हवाई उडानका लागि भिजिविलिटी र बादलको उचाइ दुवै मापदण्ड पुगेको हुनुपर्छ, एउटा मात्रै पुगेर जहाज उडाउन सकिँदैन,’ वरिष्ठ अधिकृत थापाले भने, ‘दुई दिन दुवै मापदण्ड पूरा भएन, सोमबार बादलको उचाइ पुगे पनि भिजिविलिटी नपुग्दा उडान हुन सकेन ।’
भरतपुर विमानस्थलबाट हाल बुद्ध एयरको दैनिक ७ वटा उडान हुँदै आइरहेको छ । एटीआर ७२ र ४२ विमानले काठमाडौं र पोखरा उडान भर्दै आइरहेको छ । विमान उडान हुन नसक्दा यात्रुको टिकट रकम फिर्ता ९रिफन्ड० गर्न थालिएको बुद्ध एयर भरतपुरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले बताए । ‘लगातार तीन दिन उडान हुन नसक्दा कतिपयको टिकट रकम फिर्ता गरिरहेका छौं, कतिपयले टिकट पछाडिका लागि सार्नु भएको छ,’ बस्नेतले भने ।
भरतपुर विमानस्थल हुँदै दैनिक ५ सयभन्दा बढी यात्रु चितवन–काठमाडौं आवातजावत गर्दै आइरहेका छन् । अहिले उडान ठप्प हुँदा विमानस्थल सुनसान बनेको छ । हवाई जहाजमार्फत यात्रा गर्ने यात्रुले चितवनबाट काठमाडौं जाँदा ४ हजार ६ सय १५ रुपैयाँको टिकट काट्नु पर्नेछ भने काठमाडौंबाट चितवन आउँदा ४ हजार ७ सय १५ रुपैयाँ टिकट शुल्क रहेको छ ।
भरतपुर महानगरभित्रका विद्यालय एक दिन बन्द
अत्यधिक चिसो बढेसँगै भरतपुर महानगरपालिकाले एक दिनका लागि विद्यालय बन्द गर्ने घोषणा गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले सोमबार सूचना जारी गर्दै पुस १६ गते एक दिन विद्यालय बन्द गर्ने घोषणा गरेको हो ।
मंगलबार तमु लोसारको अवसरमा स्वतः बिदा रहेकामा थप एक दिन महानगरले बिदा दिने निर्णय गरेको हो । शैक्षिक महाशाखा प्रमुख सुवास चन्द्र आचार्यले केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भइरहेको र बालबालिकाहरूको विद्यालय आवागमन तथा पठनपाठनमा समेत समस्या भएकाले एक दिन विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिए ।
(कान्तिपुर अनलाइनबाट)

Comments
Post a Comment