निर्वाचन खर्च सिमा तोकियो
काठमाडौँ — निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ ।
आयोगले १६५ निर्वाचन क्षेत्रलाई ५ वर्गमा विभाजन गरेर २५ लाखदेखि अधिकतम ३३ लाखसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको हो ।
अधिकतम सीमा ३३ लाख तोकेको आयोगले ताप्लेजुङदेखि बैतडी १ सम्म २६ वटा क्षेत्रमा ३३ लाख खर्च गर्न पाउने सीमा तोकेको छ ।
काठमाडौंमा ५ वटा क्षेत्रका उम्मेदवारले २५ लाख खर्च गर्न पाउने छन् ।
काठमाडौंका १, ३, ६, ७ र ८ का उम्मेदवारले २५ लाख मात्र खर्च गर्न पाउने भएका हुन् । १७ वटा निर्वाचन क्षेत्रमा २७ लाखको सीमा तोकिएको छ ।
२७ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा काठमाडौं २, ४, ५, ९ र १० रहेका छन् । पर्सा १, २, ३ ललितपुर १, २, ३ तथा भक्तपुर २ र कास्की २ का उम्मेदवारले २७ लाख खर्च गर्न पाउने छन् ।
६५ निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख खर्च गर्न पाउने छन् ।
यस्तै, ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख र २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने छन् ।
३१ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा झापा ५ र डडेल्धुरा १ रहेका छन् । यी निर्वाचन क्षेत्रमा केपी शर्मा ओली र शेरबहादुर देउवा उम्मेदवार रहँदै आएका छन् ।
३३ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, काभ्रे १ र २, मकवानपुर १ र २ रहेका छन् ।
गोरखा १, लमजुङ १, अर्घाखाँची १, रोल्पा १, प्युठान १, दाङ १, बर्दियाका १ र २ सल्यान १ का उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने छन् ।
हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडीका उम्मेदवारले पनि ३३ लाख खर्च गर्न पाउनेछन् ।
फागुन २१ मा निर्वाचन हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउँदै गर्दा आयोगले प्रत्यक्षतर्फका उम्मेदवारका लागि खर्चको सीमा तोकेको हो ।
(कान्तिपुर समाचारबाट)

Comments
Post a Comment